00:00:00

समाचार

ad-img

राष्ट्र बैंकको कडाइले घरजग्गा कारोबार ओरालोतिर

 
पछिल्लो दशकमा मौलाएको घरजग्गा कारोबारमा अहिले संकट आएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि यसको सीधा असर घरजग्गाको कारोबारमा देखिएको हो । हालै सरकारले नयाँ स्थानीय तह निर्माण गरेपछि नागरिक थप अन्योलमा परेका छन् । पोखरा देशकै सबैभन्दा ठूलो महानगर बनेको छ । पहिलाको नगर क्षेत्रमा सिमित जग्गा थियो । अब थप भएको महागरमा भूउपयोग नीति अनुरुप खेती, घर निर्माण र अन्य काम हुने अपेक्षा गरिएको छ । नत्र केही दशकमा पूरै महानगर कंक्रिटको जंगलमा परिणत हुनेछ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्न थालेपछि घरजग्गाको कारोबारमा सिथिलता छाएको हो ।
देशैभरका मालपोत कार्यालयमा अहिले जग्गा किनबेच गर्न आउनेको संख्या पातलिँदै गएको कर्मचारीहरू बताउँछन् । बैंकहरुले कर्जामा कडाई गरेसँगै जग्गाको कारोबारमा पनि मन्दी आएको उनीहरुको भनाइ छ । कात्तिक महिनादेखि सुरु भएको तरलता अभाव अहिलेसम्म कायम नै छ । बैंकहरुले अहिले पनि नयाँ कर्जा लगानी खासै गर्न सकेका छैनन् । यसअघि नै कर्जा दिने सम्झौता गरेका ऋणीहरुलाई मात्रै अहिले बैंकहरुले ऋण प्रदान गरिरहेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले अहिले पनि ऋण माग्दै आउने नयाँ ग्राहकलाई निराश बनाएर पठाउनु परेको छ ।
सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले तरलता अभावका कारण घरजग्गामा ऋण प्रदान गर्न नसकेको बताए । उनले भने, ‘तरलता अभावका कारण लामो समयसम्म बैंकहरुले घरजग्गा तथा अन्य क्षेत्रमा लगानी गर्न सक्ने स्थिति थिएन, अहिले भने केही बैंकले पुनः कर्जा दिन थालेका छन् ।’
भक्तपुर मालपोत कार्यालयका अनुसार माघ महिनाको तुलनामा फागुनमा घरजग्गा किनबेच गर्नेको संख्यामा कमी आएको छ । गत वर्ष माघको तुलनामा फागुनमा जग्गा किनबेच गर्नेको संख्या बढेको थियो । भक्तपुरको मालपोत कार्यालयमा गत वर्षको माघ महिनामा २ हजार ५ सय ७६ वटा घरजग्गा खरिदबिक्रीपश्चात लिखत दर्ता भएका थिए । गत वर्षकै फागुनमा यस्तो लिखत संख्या बढेर २ हजार ६ सय ५ कायम भएको थियो ।
चालु आर्थिक वर्षको माघमा ३ हजार ४० वटा लिखत दर्ता भएका थिए । तर फागुन महिनामा भने यस्तो लिखतको संख्या घटेर २ हजार १ सय २४ कायम भएको छ । जग्गा किनबेच हुँदा सरकारलाई राजस्व प्राप्त हुन्छ । माघ महिनाको तुलनामा फागुन महिनामा जग्गा किनबेचबापत सरकारलाई हुने आम्दानीमा पनि कमी आएको देखिन्छ । उपत्यकामा धेरै जग्गा किनबेच हुने जिल्लाको रुपमा अहिले भक्तपुरलाई लिन सकिन्छ । किनकी काठमाडौंको अधिकांश जग्गामा घर निर्माण भइसकेका छन् ।
उपत्यकामा अधिक मात्रामा जग्गा किनबेच हुने भक्तपुर मालपोत कार्यालयमा नै यसको कारोबारमा कमी आएपछि यसबाट सरकारलाई प्राप्त हुने राजस्वमा समेत असर परेको छ । भक्तपुर मालपोत कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा जग्गा किनबेच बापत भक्तपुर मालपोतले दर्ता शुल्क १२ करोड ९३ लाख २२ हजार ४ सय ७२ रुपैयाँ प्राप्त भएको थियो । तर फागुन महिनामा भने यसमा गिरावट आउँदै दर्ता शुल्क १० करोड ६१ लाख ८५ हजार ९ सय ११ मा सिमित भएको छ ।
भक्तपुर मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिना फागुनदेखि घरजग्गाको किनबेचमा कमी आएको बताउँछन् । उनले भने, ‘बाषिर्क लक्ष्य अनुसारको राजस्व हामीले उठाइसकेका छौ तर फागुनमा भने हामीले त्यो महिनामा प्राप्त गर्नुपर्ने राजस्व उठाउन सकेनौ ।’ प्लानिङ परमिट तथा ६ मिटरको बाटो राखेर मात्रै घर बनाउने प्राबधानका कारण समेत भक्तपुरमा पछिल्लो समय जग्गाको कारोबारमा कमी आएको पनि तिमल्सिनाले जानकारी दिए ।
काठमाडौंमा जग्गा भन्दा पनि धेरैजसो घरकै कारोबार हुने गर्दछ । त्यसैले भक्तपुरको तुलनामा काठमाडौं मालपोतमा महिनैपिच्छे दर्ता हुने लिखतको संख्या ज्यादै न्युन देखिन्छ ।
माघ महिनाको तुलनामा फागुनमा घरजग्गा किनबेचबापत काठमाडौं मालपोत कार्यालयले प्राप्त गर्ने राजस्वमा कमी आएको छ । माघ महिनामा १५ करोड ९५ लाख ३३ हजार २ सय २२ रुपैयाँ राज्यलाई प्राप्त भएकोमा फागुन महिनामा यो घटेर ११ करोड ४१ लाख ७६ हजार ८ सय ५१ रुपैयाँ कायम भएको छ । लिखतको संख्या भने माघको तुलनामा फागुनमा बृद्धि भएको छ । तर गत वर्षको फागुनको तुलनामा भने चालु आर्थिक वर्षको सोही अवधिमा दर्ता हुने लिखतको संख्यामा कमी आएको देखिन्छ ।
घरजग्गामा नागरिकको खर्बाै लगानी छ । बैंक तथा बित्तीय संस्थाले विनापूर्व सूचना यसरी कडाइ गर्दा धेरै नागरिक समस्यामा परेका छन् । नागरिकको मुख्य सम्पत्ति नै घरजग्गा मानिने नेपालमा यसले ठूलो असर गरेको छ । यथासक्य पूर्ववत् अवस्था सिर्जना गर्न सरकारले पहल गर्नुपर्छ ।
 

आजको समाचार

जनप्रतिनिधिबाट शैक्षिक सामाग्री प्रदान

तलव र भत्ता बापतको रकम बिद्यालयको शैक्षिक सुधारको लागि बागलुङका एक जनप्रतिनिधिले सहयोग गरेका छन । बागलुङको जैमिनी नगरपालिका–७ का वडा सदस्य केन्द्र रसाईलीले आफुले प्राप्त गरेको तलव र भत्ता बापतको रकमबाट बेलबगर स्थित संस्कृत माविको शिक्षाको सहयोग गर्नुभएको छ । “सम्पुर्ण जिवन नै सामाजिक सेवामा समर्पित गरेर परम आनन्दको अनुभुत गरौ” भन्ने मुल मन्त्रका साथ रसाईलीले ८४...